भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड तीन लाख ५ हजार ७८८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २२४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार २१८ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार ३८७ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ५० हजार १८३ सक्रिय संक्रमित रहेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार ५८५ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताएका थिए।