वडा प्रहरी कार्यालय बिर्ता पर्सामा कार्यरत प्रहरी निरीक्षक राजेशराज पुरी मंसिर महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले ‘पुलिस अफ दी मन्थ’ घोषणा गर्दै पुरीलाई प्रमाणपत्रले सम्मान गरेकी हुन्।
भारतसँग खुला सीमाना जोडिएका कारण जिल्लामा हुने गरेका जघन्य प्रकृतिका अपराध नियन्त्रण, अवैध हातहतियार बरामद, लागू पदार्थ बरामद जस्ता कार्यमा कुशलतापूर्वक कार्यसम्पादन गरेका पुरी महिनाको उत्कृष्ट प्रहरी बनेका हुन्।
एसपी पन्तका अनुसार पुरीले फरार प्रतिवादी पक्राउ, विभिन्न समयमा घटेका अपराधहरूको सफल अनुसन्धान, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक कार्यक्रम पनि प्रहरी निरीक्षक पुरीले सञ्चालन गरिरहेका छन्।
‘जनचेतनामूलक कार्यक्रम, स्कूल सम्पर्क जस्ता कार्यक्रमहरू सञ्चालन, भन्सार चोरी निकासी तथा पैठारी नियन्त्रण गरी उल्लेखनीय मात्रामा राजश्व संकलन र समाजमा शान्ति सुरक्षा लगायत प्रहरी परिचालनमा उत्कृष्ट कार्य सम्पादन गरी प्रहरीको छवि उच्च बनाउने कार्य गरेको पाइएको हुँदा मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ,’ सम्मानपत्रमा लेखिएको छ।