शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएपछि समस्या आउने गरेको बताएका छन्। शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)मा आयोजित कार्यकर्ता भेलामा बोल्दै मन्त्री श्रेष्ठले पुष्पकमल दाहालबाट प्रचण्ड भएपछि उनको उपद्रो शुरु हुने बताएका हुन्।
उनले प्रचण्डलाई व्यङ्ग हान्दै भने, ‘पुष्पकमल बन्दा उहाँ शान्तीको बाटो हिड्नुहुन्छ र परेवा उडाउने गर्नुहुन्छ र प्रचण्ड बनेपछि उपद्रो शुरु गर्नुहुन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई पुष्पकमल दाहाल बनाउन धेरै प्रयास गरेको उनले बताए। अन्ततः उनी प्रचण्ड नै बन्दा पार्टी नै फुटको अवस्थामा आएको उनले बताए।
मन्त्री श्रेष्ठले प्रचण्ड पुष्पकमल दाहाल बन्दा दुई पार्टी एक भएर दुई–तिहाइ बहुमत प्राप्त भएको बताउँदै फेरी उनी प्रचण्ड बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मार्गमा केही अवरोध सिर्जना भएको बताएका छन्।
अघिल्लो चुनावमा सूर्य चिह्न लिएर जाउँ भन्दा नमान्ने, अहिले चाँही छातीमा सूर्य टाँसेर तमाशा देखाउने भन्दै मन्त्री श्रेष्ठले प्रश्न गरे।
‘केपी शर्मा ओली जहाँ सूर्य चिह्न त्यहीँ’ उनले भने।