गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले निकै साहसिक कदम चालेको दाबी गरेका छन्।
शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)मा आयोजित कार्यकर्ता भेलामा बोल्दै मन्त्री थापाले प्रधानमन्त्रीले संवैधानिक नभएर राजनीतिक कदम चालेको र त्यो निकै साहसिक कदम भएको बताएका हुन्।
उनले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन्।
उनले नेकपामा विग्रह आउनुको कारण ‘पावर सेयरिङ’ र सत्ता लोलुपता भएको बताए। प्रधानमन्त्री ओलीलाई हटाउनको लागि अर्का अध्यक्षले कृत्रिम आरोप समेत लगाएको बताए।
मन्त्री थापाले प्रधानमन्त्रीलाई प्रचण्डले देशको एउटा प्रमुखलाई नेताको रुपमा नभई अपराधीको रुपमा खडा गरेको र प्रधानमन्त्रीबाट हटाउने योजना बनाएको आरोप लगाए। उनले प्रचण्डले लगाएको आरोप सही नभएको बताए।
पार्टीको अध्यक्षलाई हटाउने सोचले पार्टीलाई विभाजनतिर लान्छ र अहिले प्रधानमन्त्रीलाई कार्यकाल पूरा नहुँदै हटाउनु उचित हुँदैन भन्दा प्रचण्डले नमानेको थापाले बताए।