नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी सिजनकाे बिग बास लिग (बीबीएल)मा शनिबार होबार्ट हुरिकेन्सबाट डेब्यू गरे। शुरुआती ६ खेल गुमाएका सन्दीपको यस सिजनको डेब्यू उनकै पूर्ब क्लब मेलबर्न स्टार्सविरुद्ध भयो।
सन्दीपले अघिल्ला दुई सिजनको बीबीएल मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले अघिल्ला दुई सिजनमा मेलबर्नका लागि कुल २० खेलबाट २६ विकेट लिएका थिए। उत्कृष्ट लयमा रहेका सन्दीपलाई मेलबर्नले यस सिजन टिममा लिन चाहेन। त्यसकारण सन्दीप होबार्टमा आबद्ध भए।
ढिलो अष्ट्रेलिया पुगेका सन्दीपले क्वारेन्टाइनमुक्त भएसँगै शनिबार होबार्टको लागि पहिलो खेल खेलेका थिए। लामो समयपछि मैदान उत्रिएका सन्दीपको प्रदर्शन शानदार रह्यो। आफ्नै पूर्ब क्लब मेलबर्नलाई सन्दीपले नराम्रो झट्का दिए।
४ ओभर बलिङ गरेका सन्दीपले ३८ रन खर्चिँदै २ विकेट हात पारे। उक्त खेलमा सन्दीपको टिम हाबार्ट २१ रनले विजयी भयो। जितसँगै हाेबार्ट तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समग्रमा बीबीएलकाे जारी सिजन सन्दीपले हाेबार्टबाट शानदार शुरुआत गरे। सँगै उनले आफ्नो पूर्ब क्लब मेलबर्नलाई गतिलो झट्का पनि दिए।