अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपतिमाथि जथाभाबी नाराबाजी गर्नेलाई कारबाही गर्न माग गरेकाे छ। अनेमसंघले राष्ट्रपतिविरूद्ध अशोभनीय नाराबाजी गर्नेहरुलाई कारबाहीको माग गरेकाे हाे।
अनेमसंघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नाराबाजी र जुलुस गर्नेहरुलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको अनेमसंघले बताएको छ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथिकाे अशोभनीय र अमर्यादित विषयप्रति सरकारको ध्यानाकर्षण भएकाे साथै सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको बताएका छन्।