स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले टिमका कप्तान लियोनल मेसीको अनिश्चित भविष्यबारे आफूलाई कुनै सरोकार नभएको बताएका छन्।
‘मेसीले के गर्ने भन्ने बारेमा कुनै निर्णय नलिने बताइसकेका छन्। हामीले त्यसको सम्मान गर्नुपर्छ,’ हुइस्कासँगको खेलअघि कोएम्यानले भने।
‘सम्झौता सकिएका अरु खेलाडीजस्तै उनी पनि के गर्ने भन्ने निर्णय लिन स्वतन्त्र छन्। अहिले नै कुनै निर्णय नगरेमा म कुनै समस्या देख्दिन,’ कोएम्यानले भने, ‘हामीले उनको निर्णयको सम्मान गनुपर्छ। यसले कुनै तनाव वा चिन्ता हुँदैन।’
मेसीसँगको निर्भरताबारे कोएम्यान भन्छन्, ‘हो उनीमा केहीहदसम्म निर्भर छौं। तर, यो वर्षौंदेखि चलिआएको छ। क्लबको लागि उनको प्रदर्शन र प्रभावकारीता निकै उच्च रहेको छ।’
‘मैले २–३ वर्षअघि बार्सिलोनाको खेल हेरेको थिएँ। टिमले राम्रो खेल्न नसकेको अवस्थामा पनि लियो त्यस समस्याको समाधान बन्थे। यहीँ नै त कारण छ, उनी किन विश्को नम्बर १ भनेर,’ कोएम्यानले भने।
बार्सिलोनाको प्रदर्शनतिर संकेत गर्दै कोएम्यानले आफूहरुले उपाधि जित्ने अवस्था नरहेको बताए। तर, यसको मतलव आफूहरुले प्रतिस्पर्धा गर्न नछोड्ने उनले जानकारी दिए।
बार्सिलोना स्टार मेसीलाई नयाँ क्लबसँग छलफल गर्न कानुनी बाटो खुलिसकेको छ। उनी अन्य कुनै क्लबसँग छलफलको लागि स्वतन्त्र भइसकेका छन्। सिजनको अन्त्यमा बार्सिलोनासँगको उनको सम्झौता सकिँदै छ। सिजन शुरु हुनुअघि नै क्लब छाड्ने मनस्थितिमा पुगेका मेसी कुन क्लबका जोडिएलान् भन्ने सर्वत्र चासो छ।