काठमाडौं – दाङको लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ। फाइनल खेलमा एपीएफलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो।
प्रदेश १ ले दिएको १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनायो। एपिएफको लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन्। करुणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन बनाइन्।
बलिङतर्फ प्रदेश १ की रुविना क्षत्री र अलिशा खडियाले २–२ विकेट लिँदा संगीता राईले १ विकेट हात पारिन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५ रन बनाएको थियो। प्रदेश १ को पारीमा अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाइन्। त्यस्तै काजल श्रेष्ठले २९ र कप्तान रुविना क्षत्रीले १८ रनको योगदान दिइन्।
एपीएफको बलिङमा कप्तान सीता राना मगरले ३ विकेट लिइन्।
यस्तै कुरुणा भण्डारीले एक विकेट लिन सफल भइन्। एपीएफले सुदूरपश्चिम र प्रदेश नं. १ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेका थिए। उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप– विजेता बनेको एपीएफले तीन लाख पाएकाे छ।