प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन प्रतिनिधिसभा संसद् पुनर्स्थापना हुन नसक्ने कथन दोहोर्याएका छन्। ओली समूहका विद्यार्थीहरूले अनेरास्ववियूको ब्यानरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना असम्भव रहेको बताएका हुन्।
ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई पनि संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएर आएको खुलासा गरे। ‘संसद् पुनर्स्थापना कसरी हुन्छ? हुनै सक्दैन, अब निर्वाचन हुन्छ,’ ओलीले भने।
ओलीले ‘मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको’ बताए। ओलीले निर्वाचनमा होमिन आग्रह गर्दै विद्यार्थीहरूलाई पार्टी विग्रह ल्याउनहरूसँग प्रतिवाद गर्न निर्देशन दिए।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पनि प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले सोधेको कारणको जवाफ पेश भएको छ।
सभामुख सापकोटाले लिखित जवाफ दिएका छन्। उनले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार नभएको उल्लेख गरेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारण देखाउ आदेश जारी गरेको हो।