कोठामा आमाको शव। छेउमा १३ वर्षीय छोरा र ९ वर्षकी छोरी आमाको अनुहारमा टुलुटुलु हेरिरहेका छन्। उनीहरू एउटै आशामा छन्– आमाले चाँडै आँखा खोल्नु हुनेछ।
स–साना छोराछोरीको बेचैनी बढ्यो। तर, २० दिन बित्दा पनि आमाले आँखा खोलिनन्। आफ्नै सानिमा र पण्डितले भनेअनुसार दिनरात उनीहरूले आफ्नी आमाको शवमाथि फूल चढाइरहे, पूजा गरिरहे।
परन्तु, आमा सधैंका लागि बिदा भइन्, ती दुई अबोध बालबालिकालाई छोडेर। घटना भारतको तमिलनाडु राज्यको हो। तमिलनाडुको डिंडीगुलमा दुई बालबालिकाले २० दिनदेखि आफ्नो मृत आमालाई भगवानले फेरि जीवित बनाइदिने आशामा कुरिरहेको घटनाले फेरि एक पटक सबैलाई स्तब्ध बनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला प्रहरीको हेड कन्स्टेबल पदमा कार्यरत थिइन्। र, उनको नाम इन्दिरा रहेको बताइएको छ। उनलाई मिर्गौलाको समस्या थियो। उनी २० दिनसम्म कार्यालय नगएपछि घटना सार्वजनिक भएको हो।
लामो समय ती महिला प्रहरी चौकीमा नआएपछि एक महिला प्रहरी उनको घर गइन्। अनि घटना सार्वजनिक भएको हो। घरमा पुगेर उनले ती महिलाबारे सोधपुछ गरिन्।
ती महिला प्रहरीका छोरा र छोरीले आफ्नी आमा सुतिरहेको जानकारी दिए। त्यसपछि, त्यहाँ गएकी प्रहरीलाई शंका लाग्यो। कोठामा पनि दुर्गन्ध आइरहेको थियो। त्यसपछि उनले थप प्रहरी बल बोलाइन्।
अनुसन्धानबाट प्रहरीको टोलीले ती महिलाको करिब २० दिन अगाडि नै मृत्यु भइसकेकी पत्ता लगायो। ती दुई बालकलाई उनका सानीआमा र पूजारीले भगवानको पूजा गर्नाले उनीहरूकी आमा जीवित हुने बताएका रहेछन्।
त्यसैले उनीहरुले आफ्नी आमाको शवलाई त्यहीँ राखेर भगवानको पूजा गरेको बताएका छन्। प्रहरीले मृतककी बहिनी र पुजारीलाई हिरासतमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तलिमनाडु प्रहरीले जानकारी दिएको छ।