पोर्चुगल – कोरोना संक्रमणका कारण पोर्चुगलमा एक नेपालीको ज्यान गएको छ। उनी कोरोना संक्रमणका कारण पोर्चुगलमा ज्यान गुमाउने तेश्रो नेपाली हुन्।
४०–५० वर्ष उमेर समूहकी उनी एक वर्ष अगाडि मात्रै पोर्चुगल आएकी थिइन्। कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।
ब्लड क्यान्सरले एक वर्षीय बालकको मृत्यु
त्यस्तै, शुक्रबार मात्रै उपचारकै क्रममा एक वर्षीय बालकको लिस्बनमा मृत्यु भएको छ। उनी ब्लड क्यान्सरबाट पीडित थिए। उपचारकै क्रममा निधन भएको हो।
यही साता मात्रै तनहुँ स्थायी घर भएका एक २७ वर्षीय नेपालीको कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएको थियो।
एक साताभित्रै तीन जना नेपाली गुमाउँदा पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।
यस्तो छ पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था
पोर्चुगलमा मात्रै कोरोना संक्रमणका कारण आज मात्रै ७३ जनाको ज्यान गएको छ। ३ हजार २४१ जना नयाँ संक्रमित फेला परेका छन्।
पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ७ हजार ४५ जनाले ज्यान गुमाईसकेका छन्।
त्यस्तै कोरोना संक्रमितको संख्या ४ लाख २३ हजार ८७० पुगेको छ। कोरोना संक्रमणबाट उपचार पश्चात निको हुनेको संख्या ३ लाख ४० हजार १५० रहेको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक छ।