अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले स्पेनिस लिग ला लिगामा ५०० औं खेल खेलेका छन्। आइतबार राति हुइस्काविरुद्ध खेल्दै उनी बार्सिलोनाबाट ला लिगामा ५०० औं र सबैखाले प्रतिस्पर्धामा ७ सय ५० औं खेलमा मैदान उत्रिएका हुन्।
ला लिगामा ५ सय औं खेलमा मेसीले ४ सय ५१ गोल गरेका छन् र २ सय गोलका लागि एसिस्ट गरेका छन्। त्यस दौरान उनले ४९ वटा पहेँलो कार्ड पाएका छन्।
ला लिगामा मेसीका कीर्तिमानहरु :
– मेसी ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले हालसम्म लिगमा ४ सय ५१ गाेल गरिसकेका छन्।
– मेसी ला लिगामा सबैभन्दा धेरै गोलका लागि एसिस्ट गर्ने खेलाडी हुन्। उनले २ सय गाेलका लागि एसिस्ट गरेका छन्।
– मेसी ला लिगाको एक सिजनमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी हुन्। उनले सिजन २०११–१२ मा ५० गाेल गरेका थिए।
– मेसी ला लिगामा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन्। उनले हालसम्म ३६ पटक ह्याट्रिक गरेका छन्।
– मेसी ला लिगामा सर्वाधिक धेरै क्लबविरुद्ध गोल गर्ने खेलाडी हुन्। उनले ला लिगामा ३७ क्लबविरूद्ध गाेल गरेका छन्।
– मेसी सबैभन्दा धेरैपटक पिचिचि अवार्ड पाउने खेलाडी हुन्। ला लिगा एक सिजनमा धेरै गाेल गर्ने खेलाडीलाई दिइने अवार्ड मेसीले ७ पटक हात पारेका छन्।
– मेसी लगातार धेरै खेलमा गोल गर्ने खेलाडी हुन्।उनले २०१२ काे नोभेम्बरदेखि २०१३ काे मेसम्म लगातार २१ खेलमा गाेल गरेका थिए।
– मेसी लगातार १४ ला लिगा सिजनमा दोहोरो अंकमा गोल गर्ने एक मात्र खेलाडी हुन्। उनले ला लिगामा लगातार १४ सिजन १० भन्दा बढी गाेल गरेका थिए।
– मेसी ला लिगामा सबैभन्दा धेरै खेल जित्ने खेलाडी हुन्।
समग्रमा मेसी ला लिगाका सर्वकालिन् उत्कृष्ट खेलाडी मानिन्छन्।