देशका हिमाली क्षेत्रहरुमा भारी हिमपातका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ। पश्चिमा वायुको प्रभावले कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली जिल्लामा ठूलो मात्रामा हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुगुमा ११.३ मिलिमिटर हिमपात भएको छ। हाल पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण धरै जसो भूभागमा हिमपात, वर्षा र बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका उच्च पहाडी भाग र हिमाली भागमा हिमपात हुने र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बताएको छ।
महाशाखाका अनुसार बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आइ देशैभरी चिसो बढ्ने छ। त्यस्तै, तराईँका जिल्लाहरुमा हुस्सु, कुहीरो र सितलहरको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।