नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको छ। नेकपाका युवा नेता तथा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पहिलो चरणको आन्दोलन सकिएपछि मंगलबारबाट दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको घोषणा गरेका हुन्।
पुस २१ देखि २९ गतेसम्मका लागि आन्दोलनको घोषणा गरिएको तामाङले बताएका हुन्। अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।
त्यसैगरी, बुधबारदेखि नै प्रत्येक क्याम्पसहरूमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने तामाङले बताए। पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिटी, लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।
पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने र पुस २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने तामाङले बताए।
त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने तय भएको छ। पुस २६ गते बयलगाढा प्रदर्शन गर्ने र पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन गर्ने कार्यक्रम राखिएको छ।
पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने तथा पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने तय भएको तामाङले बताए।
यसैगरी, अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ। संघीय संसद्बाट सर्वसम्मत रूपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न दबाब दिने उद्देश्यले कार्यक्रम राखिएको हो।
साथै फिर्ता भएको भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम तय गरिएको तामाङले बताए।
कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योल तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने अनेरास्ववियूको योजना छ।
साथै, कोभिड– १९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने सहसंयोजक तामाङले बताएका छन्।
‘अनेरास्ववियूले केपी ओलीले गरेको असंवैधानिक ‘कू’विरुद्ध पहिलो दिनदेखि नै आवाज उठाउन थालेको हो, यो वारपारको लडाइँ हो, यदि कुनै संवैधानिक निकाय वा अदालत नै पनि ओलीको असंवैधानिक ‘कू’को कलंकको टिका लगाउन तयार भए भने अनेरास्ववियूले तिनीहरूको भण्डाफोर गर्छ,’ तामाङले भने, ‘र, जनताले प्रतिगामीहरूलाई र अग्रगमनका विरुद्धमा लाग्नेहरूलाई त इतिहासमा पटक–पटक सजाय गरेको छ।’