बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालमै बसेर राजनीति गर्ने भएकी छन्। केही दिनदेखि कोइरालाले नेपालका विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता, पूर्वप्रहरी, कर्मचारीलगायत लेखक तथा पत्रकारहरूसँग परामर्श गरिरहेकी छिन्।
कोइरालानिकट स्रोतका अनुसार उनले नेता विपिन कोइराला, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने तथा पूर्वडिआइजी रमेश खरेललगायतसँग परामर्श गरेकी हुन्। नेपालमा राजसंस्थासहितको हिन्दु राष्ट्र कायम गर्ने उद्देश्यसहितको राजनीतिक यात्रामा साथ दिन उनले आग्रह गरिरहेकी छिन्।
अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी गरिरहेको छ। त्यो कार्यक्रमलाई भव्य बनाउनका लागि एउटा तयारी समितिसमेत गठन गरिएको छ। त्यसको बारेमा जानकारी दिन मनिषासहितको यो टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ।
पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतले हस्ताक्षर पनि गरेका छन्। मनिषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।
मनिषा बिपी कोइरालाकी नातिनी अर्थात् प्रकाश कोइरालाकी छोरी हुन्। १६ अगस्ट १९७० मा मनिषा काठमाडौंमै जन्मिएकी थिइन्।