सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ। भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान ६ लाख २५ हजार ७० रुपैयाँ मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा नौ लाख रुपैयाँ मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो।
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो।
भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए। ‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’, शाहले भने, ‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायँसमेत हुन सक्ने व्यवस्था छ।’