ब्राजिलियन फरवार्ड नेयमार जुनियर ऐतिहासिक कीर्तिमान नजिक छन्। सन् २०२१ मा नेयमारलाई ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गराउने अवसर छ।
हाल सो रेकर्ड लिजेण्ड खेलाडी पेलेको नाममा छ। पेलेले ९२ खेल खेल्दै ब्राजिलका लागि ७७ गोल गरेका थिए। नेयमारले हालसम्म १ सय ३ खेलबाट ६४ गोल गरिसकेका छन्। नेयमार पेलेको कीर्तिमानबाट १३ गोल टाढा छन्।
२८ वर्षीय नेयमारले सन् २०२१ मा १४ गोल गरेमा उनी ब्राजिलको लागि सबैभन्दा धेरै गोल गर्ने बन्ने छन्। नेयमारले यसअघि नै रोनाल्डोको रेकर्ड ब्रेक गरिसकेका छन्। रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका थिए। हाल नेयमार ब्राजिलका लागि धेरै गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन्।
१८ वर्षको उमेरमा नेयमारले ब्राजिलको राष्ट्रिय टोलीबाट सन् २०१० को अगस्टमा डेब्यु गरेका थिए। उनले सिनियर टोलीबाट डेब्यु गरेको २८ मिनेटमा नै गोल गरेका थिए। फुटबल क्लब सान्तोसबाट व्यवसायिक फुटबल यात्रामा अघि बढेका नेयमार बार्सिलोना हुँदै हाल पेरिस सेन्ट जर्मन(पीएसजी)बाट खेलिरहेका छन्।