नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टीले मंगलबार बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भएको बताएका हुन्। बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको बताउँदै उनले निरंकुश शैलीले अगाडि बढेपछि प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गरेको जानकारी दिए।
‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारबाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि नेपालले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए।