अनेक सपना लिएर अष्ट्रेलिया जान्छन् नेपाली विद्यार्थी। अध्ययन गर्ने र करिअर बनाउने योजना बनाउँछन्। तर, कतिपयले चाहिँ परिवारमा आँशु र जीवनभरिको पीडा दिएर बिदा हुन्छन्।
मोरङको विराटनगरका २७ वर्षीय सचेत बिमली पनि परिवारका यस्तै धेरै सपना पूरा गर्ने सोच बोकेर परदेशिएका थिए। तर, अब उनी कहिल्यै फर्किने छैनन्। पोखरीमा डुबेर उनको जीवन समाप्त भएको हो।
सिड्नी शहरस्थित रोयल नेशनल पार्कस्थित वाटामोल्ला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा बिमली डुबेका हुन्। प्रहरी, उद्दारकर्मी, प्यारामेडिक्स र सर्फ लाइफसेभरको टोलीले बिमलीको डुबेरको ४० मिनेटपछि उनको शव निकालेको हो।
सचेतका भिनाजु मेघराज भट्टराईले सोमबार दुःखद् घटना भएको बताए। भट्टराईका अनुसार सचेत अध्ययनका लागि अष्ट्रेलिया गएका थिए।
निषेधित क्षेत्रमा पौडी खेल्दा...
भट्टराईका अनुसार सन् २०१९ को जुलाईमा सचेत अष्ट्रेलिया गएका थिए। उनी अष्ट्रेलियाको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्रीको अध्ययन गरिरहेका थिए।
सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका सचेत साथीहरूसँंग पार्क घुम्ने क्रममा पौडी खेल्न गएका थिए। तर, पौडी खेल्ने क्रममा ७ मिटर गहिराईमा उनी डुबेका हुन्।
पारिवारिक श्रोतका अनुसार उनी दिदीलाई चाँडै फर्किन्छु भनेर साथीहरूसँग घुम्न निस्किएका थिए। तर, प्रहरीले सचेत डुबेरको खबर घरमा पठाएपछि दिदीसहित परिवारका सदस्य विक्षिप्त भएका छन्।
स्थानीय प्रशासनले चट्टानी भागमा रहेको वाटामोल्ला तलाउमा पौडी खेल्न रोक लगाएको छ। ‘तलाउमा खेल्न नजानु’ भनेर लेखिएको नोटिस प्रवेशद्वारमै राखिएको छ।
तलाउमा डुबेर अर्का एक युवक आफै निस्किन सफल भएका छन्। साथै अर्का एक युवकलाई सुरक्षाकर्मीले उद्दार गरेका हुन्।