नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को प्लेटिनम क्याटेगोरीमा परेका छन्। उनी लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, किस गेल, डेविड मलान, राशिद खान, मुजिब उर रहमान लगायतका खेलाडीसँगै सर्वाधिक उच्च मूल्यको क्याटगेरीमा परेका हुन्।
प्लेटिनम क्याटेगोरीमा परेका खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर पाउँनेछन्। उक्त क्याटेगोरीमा २५ जना खेलाडी रहेका छन्। पीएसएलमा ६ टिमबीच हुने प्रतिस्पर्धा हुनेछ। प्लेटिनमबाट एक टिमले एक खेलाडी मात्र अनुबन्ध गर्न पाउने व्यवस्था छ। यस्तोमा राम्रो खेलाडी पनि नबिक्ने खतरा हुन्छ।
नेपाली स्पिनर सन्दीप पनि यस्तै खतरामा छन्। गत वर्ष सन्दीपलाई यसै क्याटेगोरीमा कुनैपनि टोलीले अनुबन्ध गरेका थिएनन्। कोरोना महामारीबीच सन्दीपले धेरै खेल खेल्ने अवसर पाएका छैनन्।
इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट एक खेल खेल्ने अवसर नपाएका सन्दीप अष्ट्रेलियामा जारी बिग बास लिग(बीबीएल) खेल्न पनि ढिला पुगेका थिए। नेपालबाट अष्ट्रेलिया पुगेका उनी क्वारेन्टाइनमुक्त हुँदा बीबीएलमा उनी आबद्ध होबार्ट हुरिकेन्स्ले ६ खेल खेलिसकेको थियो।
यस्तोमा सन्दीपले धेरै खेलमा सहभागी हुँदै क्षमता प्रदर्शन गर्ने अवसर कमै मात्रामा पाए। उनले होबार्टबाट २ खेल खेल्दा ३ विकेट लिइसकेका छन्। पीएसएलको ड्राफ्टबाट फ्रेन्चाइज टिमले जनवरी १० मा खेलाडी अनुबन्ध गर्नेछन्। त्यसअघि सन्दीपले बीबीएलमा व्यक्तिगत तेस्रो खेल बिहीबार खेल्दै छन्। पीएसएल खेल्ने टिमको नजरमा रहेका बेला बिहीबारको खेलमा सन्दीपले गर्ने प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।
सन्दीपले सन् २०१८ मा लाहोर कलन्दर्सबाट पीएसएल खेलेका थिए। गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए।