भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाढी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाढी भन्सारले चालु आवको साउनदेखि मंसिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ।
चालु आव २०७७/७८ मा छ करोड ३० लाख रुपैयाँ लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए।
भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ। अघिल्लो आव २०७६/७७ मा सो कार्यालयले सात करोड १६ लाख ७९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो।