विद्यार्थी सदैव पढाइ र परीक्षाको तनावमा हुन्छन्। यो स्वाभाविक पनि हो। तर, हाल कक्षा ११ का विद्यार्थीहरु फरक तनाव रहेका छन्।
त्यो तनाव हो, कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौल। कोरोना महामारी कारण पढाइ प्रभावित त भएको थियो नै, हाल पाठ्यक्रम अन्यौलले विद्यार्थीहरु झन् मारमा परेका छन्। आधा–आधी पाठ्यक्रम पढाइसकिने समयमा कक्षा ११ को पाठ्यक्रम नै टुंगो लागेको छैन।
पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो। नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार भइसकेको अवस्थामा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुन सकेको छैन।
सर्वोच्चमा परेको रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो। त्यसपछि चारपटक तोकिँदा फैसला हुन सकेको छैन। अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ।
उक्त तोकिएकै मितिमा फैसला हुनेमा द्विविधा छ। यो समस्या विद्यार्थीको मात्र हैन। शिक्षक र अभिभावक पनि यस समस्याबाट चिन्तित छन्। सम्भवतः आउँदो जेठमा नै कक्षा ११ को परीक्षा हुनेछ। पाठ्यक्रम टुंगो लागेपछि पनि विद्यार्थीलाई सबै कोर्स पूरा पढाउन मुश्किल हुनेछ।
पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो। अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ। अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको छ।
सामान्यतया हरेक पाठ्यक्रम १०–१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ। अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्यौल देखिँदा विद्यार्थी समस्यामा परेका हुन्।
नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ। तर, पाठ्यक्रमको अन्यौलताले पुस्तक किन्ने वा नकिन्ने विद्यार्थी नै अलमलमा छन्। अब विद्यार्थी, शिक्षक र अभिभावकसँग सर्वोच्च अदालतको फैसला कुर्नुको विकल्प छैन। त्यसैले उनीहरु सर्वाेच्चकाे फैसलाको पर्खाइमा छन्।