भारतीय पूर्वराष्ट्रपति डा. प्रणव मुखर्जीले एउटा सनसनीपूर्ण खुलासा गरेका छन्। स्व. मुखर्जीले आफ्नो पुस्तक ‘दी प्रेसिडेन्सियल इयर्स’ मा नेपालबारे सनसनीपूर्ण खुलासा गरेका हुन्।
मुखर्जीले नेपालका तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको उल्लेख गरेका हुन्। तर, नेहरूले तत्कालीन राजा त्रिभुवनको प्रस्ताव अस्वीकार गरेको दावी पुस्तकमा गरेका छन्।
‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षकको पुस्तकको ११औँ भागमा मुखर्जीले तत्कालीन राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको उल्लेख छ।
तर, भारतीय प्रधानमन्त्री नेहरूले उक्त प्रस्तावलाई अस्वीकार गर्दै त्रिभुवनलाई केही सुझाव दिएको उल्लेख छ।
नेहरू चाहन्थे, ‘नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्छ।’ मुखर्जीले यो पनि दावी गरेका छन् कि, नेहरुको ठाउँमा इन्दिरा गान्धी भएमा उनले उक्त प्रस्ताव स्वीकार गर्ने थिइन्।
मुखर्जीले पुस्तकमा भारतकै विषयमा पनि धेरै रहस्यमय विषयहरू सार्वजनिक गरिदिएका छन्। सन् २०१४ मा सोनिया गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेस युपिएले हारेको सन्दर्भमा पनि मुखर्जीले लेखेका छन्।
सोनिया गान्धी र मनमोहन सिंहलाई हारको जिम्मेवारको रुपमा पुस्तकमा उल्लेख गरेको दी चौपाल डटकमले उल्लेख गरेको छ।