अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीको अनुसार १ जना महिलाको गोली लागेर र अन्य तीन जनाको अन्य स्वास्थ्य समस्याको कारण मृत्यु भएको हो।
हालसम्म ५२ जना पक्राउ परेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जानकारी दिएका छन्।
वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्। यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचन भएको थियो।
अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए।
ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए। सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए।
ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।