ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको छ। समर्थकलाई उत्तेजिक पार्ने खालको ट्वीट गरेपछि उनको अकाउन्ट १२ घण्टाको लागि बन्द गरिएको हो।
ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको हो। ट्वीटरले यो कारबाही उनको चुनावसम्बन्धी ट्वीट्समाथि गरेको हो। डोनाल्ड ट्रम्पले ती तीनवटा ट्वीट नहटाएसम्म उनको ट्वीटर एकान्उट बन्द नै रहने बताइएको छ।
‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ। लामो समयदेखि उसलाई खराब र एकपक्षीय व्यवहार गरिन्छ। शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस,’ ट्रम्पले ट्वीटरमा लेखेका थिए।
के भएकाे थियाे?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद् भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको थियो। मेट्रो डिसी प्रहरीको अनुसार १ जना महिलाको गोली लागेर र अन्य तीन जनाको अन्य स्वास्थ्य समस्याको कारण मृत्यु भएको हो।
हालसम्म ५२ जना पक्राउ परेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जानकारी दिएका छन्।
वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्। यसअघि नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचन भएको थियो।
अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको थियो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए।
ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए। सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए। ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।