नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नरहेको बताएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै गौतमले नेकपा विभाजन गर्नुको एउटा पनि औचित्य नदेखेको बताएका हुन्।
‘पार्टी एकतापछि मैले धेरै कुरा उठाएँ, पार्टीका नेताको कार्यशैलीका विषयमा पनि धेरै कुरा उठाएँ, नेकपा आज विभाजित छ, तर, पार्टी विभाजनको एउटा पनि औचित्य देखिनँ,’ गौतमले भने।
जति कुरा उठाउँदा पनि नेताहरूको कार्यशैली सुधार हुने नसकेको उल्लेख गर्दै गौतमले आफू सधैं विरोधी जस्तो भएर प्रकट भएको बताए।
‘तर, अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने सोचेको थिइनँ, ८–९ महिनायता पार्टीभित्रको आलोचना गर्ने समूहभित्र बसेर पनि अविश्वासका प्रस्तावहरूलाई असफल बनाएको छु,’ गौतमले भने।
नेता गौतमले प्रधानमन्त्री केपी ओलीकै कार्यशैलीका कारण पार्टीभित्र विवाद उत्पन्न भएको बताए। ओलीलाई कार्यशैली सुधार्न धेरै पटक सुझाव दिएको उनले बताए। गौतमले ओलीकै कारण पार्टी विभाजन भएको धारणा राखे।
‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ, प्रधानमन्त्रीकै कारण नेकपाभित्र धेरै विवाद उत्पन्न भएको हो,’ गौतमले भने, ‘४३ वर्षदेखिको सहयोद्धा पनि हो, उहाँ (ओली) लाई यो शैली सुधार्नुपर्छ भनेर धेरै पटक कुरा पनि राखेको छु।’