सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ।
बुधबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो। स्पष्टिकरण सोधिएकालाई प्रचण्ड– माधव समूहले निलम्बन गर्ने तयारी गरेको छ।
पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत काम गरेको भन्दै प्रचण्ड माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री, हिक्मत कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका बुद्घिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टिकरण सोधेको हो ।