नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पर्नासाथ राजीनामा दिन सुझाव दिएको बताएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै गौतमले आफूले ८–९ महिनादेखि अविश्वासको प्रस्ताव असफल पारेका जानकारी गराएका हुन्। अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिल्यै ओलीले राजीनामा दिनुपर्ने धारणा गौतमको छ।
‘तर, अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने सोचेको थिइनँ, ८–९ महिनायता पार्टीभित्रको आलोचना गर्ने समूहभित्र बसेर पनि अविश्वासका प्रस्तावहरूलाई असफल बनाएको छु,’ गौतमले भने।
प्रधानमन्त्री ओलीको कार्यशैलीकै कारण नेकपा विभाजनतर्फ धकेलिएको गौतमको धारणा थियो। जति कुरा उठाउँदा पनि नेताहरूको कार्यशैली सुधार हुने नसकेको उल्लेख गर्दै गौतमले आफू सधैं विरोधी जस्तो भएर प्रकट भएको बताए।
‘प्रधानमन्त्रीका लागि राजीनामा दिएर पार्टी एकता जोगाउने अवसर थियो, म त्यो ठाउँमा थिएँ भने अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ,’ गौतमले भने।