नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रको सर्वोच्च संस्थाको रुपमा रहेको राष्ट्रपतिलाई केपी ओली नेतृत्वको सरकारले बद्नाम गराएको बताएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै रायमाझीले राष्ट्रपति संस्था सम्मानित र साझा संस्था हो भन्ने नबिर्सिन ओलीलाई चेतावनी दिएका हुन्।
‘राष्ट्रपतिलाई हरेक कागजमा हस्ताक्षर गराउने? राष्ट्रपति नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता हो? नेकपाको कार्यकर्ता हो?,’ रायमाझीले भने, ‘होइन, राष्ट्रपतिलाई उच्च स्थानमा राखेका छौं, सम्मानित संस्थालाई बद्नाम गराउने काम यो सरकारले गर्यो।’
राष्ट्रको उच्च सम्मान गर्ने संस्थामा पुगेकी विद्यादेवी भण्डारीलाई सरकारले विवादमा तानेर महिलाहरूलाई असक्षम सावित गर्ने प्रयास गरेको टिप्पणी रायमाझीले गरे।
ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गर्दै रायमाझीले निरंकुशताको बाटो अघि बढ्न खोजे दुर्घटना हुने प्रष्ट पारे।
‘एउटा तानाशाहको भरमा हिँड्दा आज राष्ट्रपति विवादमा पर्नुभएको छ, महिलाले अवसर पाएनन् भन्दा उहाँ (भण्डारी) राष्ट्रपति बन्दा गौरवको विषय भएको थियो, तर सरकारका कारण उहाँलाई, राष्ट्रपति संस्थालाई बद्नाम बनाइयो,’ रायमाझीले भने।
निर्वाचनको कुरा गरिरहेका बेला ओलीले पराजितहरूलाई मन्त्री बनाएको बताउँदै रायमाझीले संविधान अनुसार चल्न चेतावनी दिए। ‘ओलीले संविधान मान्नु नपर्ने? अरु राजनीतिक पार्टीहरूले मात्रै मान्नुपर्ने?’ रायमाझीको प्रश्न छ, ‘केपी शर्मा ओली हिटलर हो? उहाँलाई जे मनलाग्यो त्यही गर्ने?’