नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वामदेव गौतमले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न नमिल्ने तर्क गरेका छन्। गौतमले संवैधानिक इजलासले गइसकेको मुद्दालाई असंवैधानिक भन्नु सर्वोच्च अदालतको अपमान हुने बताएका हुन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा संसद् विघटन गर्ने कदम असंवैधानिक नभएको बताएका हुन्।
‘संवैधानिक सर्वोच्चतालाई हाम्रो सिद्धान्तको मूल विषय बनाएका छौं, संविधान भित्रको विषय आफूले भने बमोजिम भएन भन्दैमा त्यसलाई बदनाम गर्ने किसिमले काम गर्नु उचित हुँदैन, असंवैधानिक भन्नु गलत हो,’ गौतमले भने।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेमा ओलीको कदम असंवैधानिक हो भनेर पुनर्स्थापना नगर्ने गौतमको तर्क छ। ‘सर्वोच्चले निर्वाचनकै पक्षमा फैसला गरेछ भने त्यस (ओलीको कदम)लाई संवैधानिक भन्ला, तर पनि यो विषय संवैधानिक हो,’ गौतमले भने।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनिएकोप्रति गौतमले घुमाउरो ढंगले विरोध गरे। ‘हामीलाई मौलिक स्वतन्त्रता छ, जहाँ बोले पनि भयो, तर त्यसो भए पनि हामीले विचार गर्नुपर्छ, यो मुद्दा साधारण इजलासबाट संवैधानिक इजलासमा गएकाले यो विषय संवैधानिक हो,’ गौतमले भने।
सर्वोच्च अदालतले मुद्दाको फैसला नगरेसम्म यस विषयमा केही नबोल्ने नेता गौतमको प्रष्टोक्ति थियो। ‘संसद् विघटनविरुद्ध परेका रिटहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक हुन् भन्न मिल्दैन, यो संवैधानिक विषय हो,’ गौतमले भने।
नेकपा विभाजनको संघारमा पुगेका बेला नेता गौतमले प्रधानमन्त्री ओलीको पक्षमा उभिएको सन्देश राष्ट्रियसभामार्फत् दिएका हुन्। यसअघि, नेकपाका अन्य नेताहरूलाई उपाध्यक्ष गौतमले कुनै पक्षमा नलाग्ने बताउँदै आएका थिए।