भो दिदी अब आँशु नखसाल,
दुई अञ्जुली जोडेर भिनाजुलाई
तिलाञ्जली देउ।
कठोरपनको ‘क’ पनि थाहा नपाएकी तिमी
खै! दैवले कसरी एक
झट्कामा कठोर हुन बाध्य पार्यो!
खै! म कसरी भन्नु तिमीलाई अब!
तिमी साहसी भयौं।
सायद अब जीन्दगीका हरेक पीडा तिमीलाई
यस्तै हो भन्ने लाग्छ,
कि, जुन पीडामा तिमीले आफूलाई
बगाइसकेकी छौं।
अब अरु पीडा सबले तिमीलाई
अझ मजबुत र दरिलो बनाउँछ।
अब ती अबोध दुई बालखहरूलाई हेर
ती अबोध बाआमाको
मुहार हेर र आफूलाई
अझ दरिलो बनाएको महसुस गर।
ती अबोध मनहरूमा यति माया बगाउ
दिदी तिमी कि तिमीलाई मायाको
कहिले अभाव नहोस्।
तिमी त अझ मजबुत भयौं
दिदी हेर त ती चेलीहरूको अनुहार हरपल
तिमीलाई नै खोज्छन्।
अब तिमीले माइती हुनुको आफ्नो
कर्तव्यलाई पनि मायाले
सुम्सुमाउँदै पूरा गर्नु छ नी।
हो दिदी, त्यसैले अब
आफूलाई यति कठोर बनाई देउ कि
सबलाई माया नै माया देउ
दिदी तिमीलाई कहिले माया
गर्नेहरूको कमी हुने छैन।
भो अब नकल्प तिमी मलाई धोका दियो भनेर
धोका त एकदिन हामी सबैले पाउँछौ
मात्र समय न फरक हो दिदी,
जाने सायद भगवान को प्यारो थिए।
र त उनले लगे, तर तिनै भगवान नै हुन् दिदी
जसले तिमी हामीलाई कहिल्यै धोका दिँदैनन्।
मनलाई दह्रो बनाउ, शान्त राख,
आफ्नो शरीरलाई र आफूलाई सधैं माया गर
मेरी दिदी उस्तै समय त फेरि नआउला
तर, विश्वास गर, ती राम्रा दिनहरू आउने छ
र, जसले तिम्रो मन रमाउने छ
जुन दिन तिमीले आफूलाई भन्ने छौं
‘हो हेर त आज तिमीले हैन, मैले पो जिते छु।’
उही बहिनी