कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग पत्रिकाका अनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको शेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्याएको हो।
अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर एलन मस्क संसारकै धनी व्यक्ति बनेका हुन्। मस्कको सम्पत्ति बेजोसको भन्दा ३ अर्ब डलर बढी छ। बेजोसको सम्पत्ति हाल १ सय ८७ अर्ब डलर छ।
कुनै बेला लामो समयसम्म संसारकै धनी बन्न सफल रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्। १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा छन्। मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए। त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए।
फोर्ब्स पत्रिकाका अनुसार कुनै मानिसले एक वर्षमा यति धेरै सम्पत्ति बनाउन सफल भएको यो पहिलो पटक हो। मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो। बेजोस सन् २०२० को शुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे।
उनी अनलाइन सपिङ कम्पनी अमेजनसँगै अमेरिकी अखबार द वासिङ्टन पोष्टका पनि मालिक हुन्। उनले गत वर्ष ७२ अर्ब डलरको सम्पत्ति जोडे। केही महिना पहिला बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि पुगेको थियो।
त्यस्तै मुकेश अम्बानी र ज्याक मालाई पछि पार्दै चीनका झोङ सानसान एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्। बुल्मवर्गले प्रकाशित गरेको बिलिनियर्सको सूचिमा झोङ पहिलो पटक एसियाका धनी व्यक्ति बन्न सफल भएका हुन्। उनी चीनमा वाटर किङ नामले परिचित छन्।
ब्लुम्बर्गको इन्डेक्स अनुसार सन् २०२० मा झोंगको सम्पती बढेर ७७ दशमलव ८ अरब डलर भएको छ।