नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध गरेको छ। माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरगर्फ लागेका हुन्।
संविधान मिचेर प्रधानमन्त्री उल्टो बाटोमा हिडेको हुँदा सच्चिन दबाब दिँदै उल्टो हिँडेर विरोध गरिएको बताइएको छ। संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाइएको छ।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन्। ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै फुटेको छ।
सरकारको उक्त कदमको चौतर्फी विरोध भइरहेको छ भने सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी मुद्दा विचाराधीन छ।