भारतमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ।
विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान जनकारी दिएको छ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार ५७० जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८५९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख २५ हजार ४४९ सक्रिय संक्रमित रहेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ४८६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६४४ भन्दा बढीको मृत्यु भइसकेको छ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ९३ लाख ३६ को हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो बिहीबार एक दिनमा नौ लाख ३५ हजार ३६९ जनाको कोभिड–१९ परीक्षण गरेको छ।