प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीको कार्यक्रमलाई सम्बोधन गरिरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवनियुक्त केन्द्रीय सदस्य र विद्यार्थी नेताहरू पूर्व दौहाडामा छन्। संगठन सुदृढीकरणका लागि बृहत भेलासहितका कार्यक्रम लिएर युवा नेता पूर्वका जिल्लामा पुगेका हुन्।
यसैक्रममा नेकपाको ओली पक्षका नेताहरू पूर्वका ४ जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा कार्यकर्ता भेला र प्रशिक्षण सम्पन्न गरी फर्किएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि आगामी निर्वाचन र आवश्यक रणनीति तय गर्ने अठोटका साथ पूर्वबाट अभियान शुरु गरिएको नेताहरूले बताएका छन्।
नेकपाका नवनियुक्त केन्द्रीय सदस्य एवं अनेरास्ववियूका संयोजक ऐन महर, केन्द्रीय सदस्य तथा युवा नेतृ सुनिता बरालसहित नेताहरू चिन्तन पाठक, शिव ढुंगेल, वसन्त बानियाँ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका छन्।
अनेरास्ववियूको अभियान
प्रधानमन्त्री पक्षका नेताहरूले देशव्यापी रुपमा संगठन परिचालन शुरु गरेका छन्। यही शिलशिलामा अनेरास्ववियूले ‘गुट फुटमा नअल्मलियौं, अनेरास्ववियूको मुल प्रवाहमा समाहित होऔं’ नाराका साथ अभियानको थालनी गरेको हो।
अनेरास्ववियूका संयोजक ऐन महरले सबै विद्यार्थीलाई एकताबद्ध बनाउनका लागि संगठनका तर्फबाट राष्ट्रव्यापी रुपमा अभियान प्रारम्भ भएको बताएका छन्।
‘नेकपाका केही नेता बाहिरिएपछि अनेरास्ववियूका साथीहरूले स्वतःस्फुर्त रुपमा सांगठानिक काम शुरु गर्नु भएको छ, त्यसलाई एकीकृत गर्दै सशक्त रुपमा संगठनलाई अगाडि लैजाने मिसनका साथ हामी लागेका छौं,’ महरले भने।
‘ताप्लेजुङमा भट्टराईविरुद्ध जनमत बलियो’
प्रतिनिधिसभामा तत्कालीन एमालेका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफै ताप्लेजुङ गएर कार्यक्रमलाई सम्बोधन गरेका थिए। नेकपाका नेता योगेश भट्टराई उम्मेदवार रहेको ताप्लेजुङबाट उनलाई मन्त्री बनाउने घोषणा ओलीले गरेका थिए।
युवा नेतृ सुनिता बरालले ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पक्षमा जनमत बलियो रहेको बताएकी छिन्। पार्टीका नेता, कार्यकर्ता र आमनागरिकसँगको संवादमा प्रधानमन्त्रीको पक्षमा लहर देखिएको बरालको भनाई छ।
‘तर, अहिले योगेश भट्टराईको प्रधानमन्त्रीविरुद्धको कदमले ताप्लेजुङमा उहाँप्रति ज्यादै नराम्रो असर पारेको रहेछ, राजनीतिक उचाई बनाउन सहयोग गर्ने अभिभावकविरुद्ध लागेकाले भट्टराईलाई राजनीतिक रुपमा ठूलो घाटा व्यहोर्नु पर्ने देखियो,’ बरालले भनिन्।
‘पाँचथर र इलाममा पनि माहोल ओलीकै पक्षमा’
युवा नेतृ बरालले अनेरास्ववियूसँगै पार्टीका नेताहरूसँग पनि अन्तरक्रिया गरिएको बताइन्। उनले पाँचथरमा प्रदेश एकका अर्थमन्त्री इन्द्र आङ्बोविरुद्ध जनमत निर्माण भएको दावी गरिन्।
‘सरकारमा बस्ने अनि सरकारविरुद्ध गतिविधि गर्ने भन्ने प्रश्न आम कार्यकर्ता पंक्तिले गरिररहनु भएको छ,’ बरालले भनिन्, ‘यसको नतिजा ठिक नहुने भन्नेसम्मका अभिव्यक्ति कार्यकर्ता तहबाट आइरहेको छ।’
इलाममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला हो। इलाममा पनि बृहत कार्यक्रम राखिएको युवा नेतृ बरालले बताइन्।
‘इलाममा जीवनभर झलनाथ खनालको पक्षमा हिँडेका कार्यकर्ताले पार्टीलाई धोका दिने उहाँको कदमपछि आक्रोशित भएका छन्, त्यसैले भोलिका दिनमा उहाँको राजनीतिक भविष्य संकटतर्फ उन्मुख छ भन्दा गलत हुँदैन,’ बरालले भनिन्।
झापामा ऐतिहासिक कार्यक्रम
अनेरास्ववियूले झापामा पनि बृहत सभाको आयोजना गरेको छ। नेतृ बरालका अनुसार झापामा पछिल्लो डेढ दशकै ठूलो कार्यक्रम झापामा सम्पन्न भएको छ।
‘प्रधानमन्त्रीज्यूको गृहजिल्लामा अनेरास्ववियूको कार्यक्रममा जुन उत्साह देखियो, त्यसबाट के प्रष्ट भयो भने उहाँमाथि अहिले जुन आरोपहरू लगाइएको छ, ती सबै मित्था हुन् भन्ने पुष्टि भयो,’ बरालले भनिन्।
पूर्वका ४ जिल्लामा देखिएको उत्साहले अब देशव्यापी कार्यक्रम अघि बढ्ने युवा नेतृ बरालले बताइन्। ‘प्रधानमन्त्रीज्यूको योजना, समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अझै सशक्त बनाउने अठोटका साथ हामी अघि बढ्छौं,’ बरालले भनिन्।