नेपाली कांग्रेसले आज ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दै छ। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।
ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्यका विरुद्धमा नेपाली कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर ओलीबाट भएकाले विरोध प्रदर्शनको आयोजना गरिएको बताएका छन्।
नेता प्रधानका अनुसार काठमाडौंको प्रदर्शनीमार्गमा हुने कार्यक्रमको तयारी सम्पन्न भएको छ। हजारौं कार्यकर्ता उतार्ने तयारी गरिएको प्रधानले बताए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँगै नेता प्रधान, कांग्रेस काठमाडौं सभापति सबुज बानियाँ लगायतले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
यसैबीच, माघ ३ गते शनिबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने घोषणा कांग्रेसले गरेको छ। माघ ८ गते बिहीबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरूका ६ हजार ७ सय ४३ वडाहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कांग्रेसको तयारी छ।