संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले देशैभर विरोधसभा र प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद् विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलनस्वरुप देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो।
कांग्रेसले देशका विभिन्न स्थानमा गरेको विरोधसभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन्। विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा सहभागि भएका छन्।
काठमाडौंको प्रदशर्नीमार्गमा भएको विरोध सभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत सहभागि भएका छन्। विरोध सभामा सहभागि कांग्रेस नेताहरुले संसद् पुनःर्स्थापना भएरै छाड्ने दाबी गरेका छन्। कसैको सनकको भरमा संविधानमै नभएको अधिकार प्रयोग गरी संसद्को घाँटी निमोठिनु गलत भएको नेताहरुले बताएका छन्।