नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगौडा भएको बताएका छन्। संसद विघटनविरुद्धको विरोधसभामा बोल्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर भागेका भगौडा भएको बताएका हुन्।
‘प्रधानमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो’, उनले भने, ‘संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो। त्यसैले संसद भंग गरेँ भन्ने?’
नेता थापाले प्रधानमन्त्री ओलीलाई खुलामञ्चमा सँगै बसेर संविधान पढ्न आग्रह गरे। ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेकोतिर लक्षित गर्दै उनले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं। हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं।’