प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई निर्वाचनमा आएर आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै ओलीले चुनावमा आएर आफूसँग प्रतिस्पर्धा गरेर बहुमत ल्याउन चुनौती दिएका हुन्। ओलीले प्रचण्ड र नेपाल पक्ष चुनावमा जाने डराएको आरोप लगाए।
‘जनताका बिचमा जाने भन्ने बित्तिकै, निर्वाचन भन्ने बित्तिकै सातो किन गएको?,’ अन्त कही जाने भनेको होइन नि, अरु कुनै प्रभुका चरणमा जाने भनेको होइन नि, जनताका शरणमा जाने भनेको, नेपाली जनताको अभिमत लिने भनेको,’ ओलीले भने।
ओलीले आफूले गल्ती गरेको भए जनताले दण्डित गर्ने धारणा राखे। ‘केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली जनताले त्यसको दण्ड देलान्, जनताका बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपील गर्नुस् न, जानुस्, तपाईहरूलाई त्यहीँ जवाफ दिएर पठाउने छन्,’ ओलीले भने।