प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने जिकिर दोहोर्याएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले संविधानतः आफूले संसद् विघटन गरेको बताएका हुन्। ओलीले संसद् पुनर्स्थापना कुन विकल्पका लागि हुन्छ भनेर प्रश्न गरे।
ओलीले संसद् विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरूको चर्को आलोचना गरे। ‘कानूनविद्हरू देखेर दया लागेर आउने’ बताउँदै ओलीले न्याय क्षेत्रका अगुवाहरूको चर्को आलोचना गरे।
अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको कथन दोहोर्याएका ओलीले पूर्वप्रधानन्यायाधीशहरूले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको आरोप लगाए।
न्यायालयलाई दबाबमा पार्न खोजिएको आरोप लगाउँदै ओलीले पूर्वप्रधानन्यायाधीशहरू र अधिवक्ताहरूको आलोचना गरे। ‘न्यायालय दबाबमा पर्न हुन्न, सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ,’ ओलीले भने।