ट्युसन पढेर खेल्न निस्किएका दुई बालक बेपत्ता भए। परिवारका सदस्यलाई एकै पटक तनाव आइलाग्यो। नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै भारत गएको खुल्न आएपछि अझै ठूलो त्रासदीमा परे दुई परिवार।
झण्डै २० घण्टाको तनावपछि प्रहरीको उच्च सक्रियताका कारण ‘अपहरणको आशंका’ गरिएका पर्साको वीरगञ्ज–४ बिर्ताका दुई बालकलाई पटनाबाट उद्दार गरिएको छ। शनिबारबाट हराएका बालकहरूलाई भारतको विहारस्थित पटनामा फेला पारिएको हो।
पर्साकाे वीरगञ्ज–४ बिर्ताका दिपेश शर्माका छोरा प्रनेश शर्मा र वीरगञ्जकै व्यवसायी जगरनाथ कलवारका छोरा तेजस भनिने शिवेष गुप्तालाई पटनाबाट उद्दार गरिएको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख इन्स्पेक्टर राजेशराज पुरीले बालकहरूको खोजीका क्रममा पटनामा फेला पारिएको बताएका छन्।
प्रहरी निरीक्षक पुरीका अनुसार शनिबार बिहान ९ बजेको समयमा शिबेशको घरमा ट्युसन पढ्न प्रनेश गएका थिए। त्यसपछि ब्याडमिन्टन खेल्न भनेर दुवै जना घरबाट निस्किएका थिए।
किताब झिकेर झोलामा केही सामग्री राखेर घरबाट निस्किएका थिए। प्रनेशको बुवाकी सानिमाको घरमा राखिएको थियो। त्यसपछि बिहान ११ बजेर १८ मिनेटमा उनीहरू भारततर्फ लागेको देखिन्छ।
‘सिसीटिभी फुटेजबाट दुवै जना भारततर्फ जाँदै गरेको पुष्टि भयो, त्यसपछि खोजी तीव्र पारिएको हो, सोही क्रममा दुवै बालक पटनामा फेला पारिएको हो,’ पुरीले भने।
प्रहरी निरीक्षक पुरीका अनुसार पटनाबाट कसैले प्रनेशकी आमालाई फोन गरेर दुई बालक पटनामा रहेको खबर गरे। त्यसपछि भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई फिर्ता ल्याउन लागिएको पुरीले बताए।
बालकहरूलाई फिर्ता ल्याउनका लागि दुई जना प्रहरीलाई पनि पटना पठाइएको प्रहरी निरीक्षक पुरीले जानकारी दिएका छन्। ‘इन्टरनेटको प्रभावले बालकहरू हिँडेको अनुमान गरिएको छ, यद्यपि, उनीहरूलाई भारतबाट फिर्ता भएपछि सोधपुछ र काउन्सिलिङ गरिनेछ,’ पुरीले भने।
वीरजञ्जस्थित गौतम स्कूलको कक्षा ६ मा दुई बालक अध्यनरत छन्। शिवेशको बुवा जगरनाथ पनि उनीहरूलाई लिन भारत गएका छन्।