आज (सोमबार) विविध कार्यक्रम गरी २ सय ९९ औं पृथ्वी जयन्ती मनाइएको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस बनाइएको हो।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिएको छ।
काठमाडौंमा २९९ औं पृथ्वी जयन्तीको अवसरमा बृहत् र्याली निकालिएको छ। र्यालीमा सहभागिहरुले राजसंस्था पुनर्स्थापनाकाे माग गरेका छन्। हजारौंको संख्यामा सडकमा निस्किएका नागरिकहले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराबाजी गरेका छन्।
‘पृथ्वीनारायण शाह अमर रहुन्’, ‘राजतन्त्र जिन्दावाद’, भन्दै र्यालीलमा सहभागिहरुले धर्म निरपेक्षता खारेज गर्न माग गरेका छन्। उनीहरुले देशमा राजतन्त्र आवश्यक भएको बताउँदै संवैधानिक राजतन्त्र बहाली गर्न र नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गरेका हुन्।