वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरी १९ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ।
सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १ सय ४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो। उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरिएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिए।
यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापा मारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो।
टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायत सहभागी थिए। व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको बताइएको छ।