हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन। सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ।
भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए। डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए।
सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन्। ती क्षेत्रका सयाैं हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन्।