नेपाली युवाहरूको राम्रो रोजगारी गन्तव्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएका छन्। सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका खमगडा घर भएका लक्ष्मी साह सम्पर्कविहीन भएका हुन्।
साह ८ वर्षदेखि कुवेतको अलसामसीय कम्पनीमा कार्यरत छन्। उनी २०२० को नोभेम्बर १९ तारिखबाट हराइरहेको सोही कम्पनीमा कार्यरत रहेका भागवत साहले जानकारी गराएका हुन्।
विगत ८ वर्षदेखि कुवेतमा कार्यरत साह ड्यूटी सकेर फरवानियामा रहेको कम्पनीको क्याम्पमा फर्केपछि साँझपख तरकारी लिन निस्किएका थिए। त्यसपछि कोठामा फर्केनन्। अहिलेसम्म पनि सम्पर्कविहीन छन्।
भागवतले १९ नोभेम्बर २०२० का दिन ड्यूटीबाट कोठामा आएपछि भागवत पुनः अर्को ड्यूटीमा गएर साँझपख कोठामा फर्किंदा लक्ष्मीलाई नभेटेको बताएका छन्।
फोन गर्दा रिङ गए पनि फोन नउठाएकाले कतै बाहिर गएको होला भन्ने ठानेर खाना खाएर सुतेको उनले बताए। तर, राति २ बजे ड्यूटी जानुपर्ने समयसम्म पनि कोठामा नआएपछि कम्पनीमा खबर गरेको उनले बताए।
भागवतका अनुसार नोभेम्बर २० तारिख बिहान ६ बजेसम्म फोन रिङ गइरहेको थियो। त्यसपछि फोन स्वीच अफ भएको उनले बताए।
एउटै गाउँमा घर भइ कुवेतमा समेत एउटै कम्पनीमा कार्यरत भगवतका साथी लक्ष्मी साह अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्। उनको खबर नपाउँदा नेपालमा परिवारजन निकै तनावमा रहेका छन्।
लक्ष्मीका आफन्त युवानन्द साहका अनुसार उनी हराएको खबर कम्पनी र दूतावासमा समेत दिइएको छ। तर, उनको अवस्था अहिलेसम्म सम्पर्कविहीन नै छ।
यस विषयमा नेपाली राजदूताबास कुवेतमा सम्पर्क गर्दा सम्पर्कविहीन भएका लक्ष्मी साहको परिवारबाट उनको स्थिति सार्वजनिक गरिदिन अनुरोध आएको जानकारी गराइएको छ।
दूताबासले कामदार कार्यरत कम्पनीलाई कामदारको स्थिति सार्वजनिक गर्न ताकेता गरेको तथा दूताबासको तर्फबाट पनि अस्पतालहरू तथा प्रहरीमा बुझ्ने काम भएकोमा अहिलेसम्म कहिँ कतै नभेटिएको र खोजी कार्य जारी रहेको जानकारी दूताबासले दिएको छ।
यदि कोही कसैले लक्ष्मी साहलाई देख्नु वा भेट्नु भएमा कुवेतस्थित लक्ष्मी साहका साथी भागवत साहको WhatsApp नं. +96565838797 वा नेपालमा रहेका आफन्त युवानन्द साहको WhatsApp नं. +977 9862268025 मा सम्पर्क गरि जानकारी गरिदिनु हुन वा नेपाली राजदूतावास कुवेतमा जानकारी गराइदिनु हुन सबैमा अनुरोध छ।