काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। सोमबार बिहान चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई महानगरीय प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ३७ लाख रुपैयाँसहित पक्राउ गरेको हो।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको हो।
उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।