निर्वाचन आयोग नेपालले निर्वाचनको तयारी शुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघछन गरेर मध्यावधि निर्वाचनको घोषण भएसँगै आयोगले तयारी थालेको हो।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन्। जिल्ला निर्वाचन अधिकारीलाई अनलाइनमार्फत् प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशनमा ध्यान केन्द्रित गर्न थपलियाले निर्देशन दिएका हुन्।
आयोगले मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आयोगले विशेष चासो देखाएको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूूर्णपालना गर्न आयोग तयार रहेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।
मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुुझाव दिँदै उनले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिए।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए। सचिव देवकुमारी गुरागाईंको अध्यक्षतामा भएको दुुईदिने प्रशिक्षणमा आयोगका सहसचिव तथा अधिकृतको सहभागिता थियो।
यद्यपी, संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचन हुने वा नहुने निक्र्यौल भइसकेको छैन। सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटन गर्ने सरकारको निर्णय सदर गरेमा निर्वाचन हुनेछ।