हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना संक्रमितको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएकाले जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्दार गरिएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिए।
काठमाडौँमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर संपुरुषको उद्दार गरिएको हो। कोरोना संक्रमितको श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडाैं रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिइन्।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ। अर्का कोरोना संक्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ।