गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना भएको १७ वर्ष भयो। विश्वभरि रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँध्ने प्रयास स्वरुप डा. उपेन्द्र महतोको नेतृत्वमा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले इतिहासको सबैभन्दा कठिन घडीमा पुगेको छ।
इतिहासमा सबैभन्दा विवादित अध्यक्षका रुपमा दर्ज भएका छन् कुमार पन्त। गत वर्ष काठमाडौंमा सम्पन्न नवौं सम्मेलनमा विभिन्न ‘प्रोपोगण्डा’ गरी जीत हासिल गरेका पन्तको १५ महिना असाध्यै विवादित बन्यो।
विद्यार्थी भिसामा जर्मन पुगेका अध्यक्ष पन्त व्यवसायीबाट एनआरएनएको महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको कार्यभार सम्हाल्न पुगेका हुन्। यद्यपि, उनले संघको गरिमा र पदीय मर्यादा बचाउन सकेनन्।
एनआरएनए अभियन्ताहरू अस्ताउँदो कार्यकालमा पनि राजनीति दलहरूका प्रवास संगठनलाई गाली गर्नेदेखि ठाउँ–ठाउँमा कालो झण्डाको स्वागत पाउने पहिलो अध्यक्षको रुपमा पन्त नाम दर्ज गराएको बताउँछन्।
सामाजिक संस्थाका नेतृत्व लिएपछि साझा र समन्वयकारी भूमिकामा देखिनु पर्ने पन्त तल्लोस्तरमा ओर्लिएर प्रवासका राजनीतिक संघसंस्थालाई गाली गर्न थालेका छन्।
एनआरएनएका राष्ट्रिय मुद्दामा नेपालका राजनीतिक दलहरूका प्रवास संगठनसँग हातेमालो गर्दै अघि बढ्ने परम्परालाई तोड्दै पन्त तथानाम गाली गर्ने परिपाटी बसाल्न खोजिरहेको अभियन्ताहरू बताउँछन्।
समाजमा आफ्ना बदनाममा आसेपासेका कुरा काट्न नसक्दा गैरआवासीय नेपाली संघ युकेको एउटा कार्यक्रममा कालो झण्डाको सामना गर्नु पर्यो।
युकेबाट शुरु भएको कालो झण्डाको स्वागत पन्त बस्ने मुलुक जर्मनीमै देख्नु पर्यो। त्यो विवादबाट पाठ सिकेर भविष्यमा राम्रो काम गर्नुपर्नेमा पन्त राजनीतिक दलका भ्रातृ संगठनलाई तथानाम गाली गर्नमै केही समय व्यस्त रहे।
राजनीतिक दलकै ढोका–ढोका चहारेर नेतृत्व हासिल गर्ने पन्त र महासचिव हेमराज शर्मा दुवैले उनीहरूलाई ताली (धन्यवाद) को साटो गाली फर्काइरहेका छन्।
बेल्जियमको एनसीसीको साधारणसभामा संस्थाको गरिमामा आँच पुग्ने गरी गाली गर्न उत्रिएपछि पन्तको विगतको शालिन व्यक्तित्व खस्कियो।
अहिले एनआरएनए एउटा गुटले चलाउन थालेको छ। गुटमा पन्तले महासचिव हेमराज शर्माबाहेक कसैको समर्थन पाउन सकेका छैनन्। पन्त र शर्मा गुटका कारण एनआरएनए संकटग्रस्त अवस्थामा छ।
महामारीका काम गर्न पूर्णतः असफल भएका अध्यक्ष पन्तले एउटा गुटलाई मात्र समातेपछि एनआरएनए विग्रहको स्थितिमा पुगेको छ।
जन्मभूमिबाट कामको शिलशिलामा विदेशिएका नेपालीहरूलाई समेटिएको पवित्र संस्थालाई कुनै व्यक्तिको स्वार्थका लागि उनले प्रयोग गरेपछि चार जना कार्यसमितिकै सदस्यहरू परराष्ट्र मन्त्रालयमा उजुरी दिन पुगे।
कोरोना महामारीका बेला विधान संशोधनभन्दा काममा ध्यान दिऔं भन्दा उनले सुनेको एक पदाधिकारीले बताए। विधान संशोधन पनि विस्तृत छलफल चलाऔं भन्दा उनले जुम मिटिङ बन्द गरेर निर्णय गर्नुपर्ने अवस्थामा पुगे।
उनी त अध्यक्ष भइसकेका छन्। ‘अब दोहोर्याएर अध्यक्ष हुने अवस्था छैन, तर कसैका लागि भष्मासुरका रुपमा प्रस्तुत भएका पन्त यस्ता अध्यक्ष हुन्, जसले एनआरएनए जस्तो पवित्र संस्थाका नेतृत्वकर्तालाई कालो झण्डा देखाउनेदेखि अदालत पुर्याउने काम गरी इतिहासमा असफल नेतृत्वका रुपमा आफूलाई विश्वभरिका नेपालीसामू परिचित गराए,’ एनआरएनएका एक केन्द्रीय पदाधिकारीले भने।
उनकै कार्यशैलीले एनआरएनए अदालतको ढोकामा पुग्ने अवस्था बनेको छ। अबका ८ महिनामा उनी स्वतः पूर्व अध्यक्षको दर्जामा पुग्छन्।
‘त्यतिबेला बल्ल पन्तले आफ्नो कालो पोतेको अनुहार ऐनामा देख्नेछन्, तर कालो पोतेको अनुहार पखाल्ने समय उनीसँग घर्किसकेको हुनेछ,’ एनआरएनए जर्मनीका एक पदाधिकारीले भने।