जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो घटनामा परि २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएको जापानी उद्धारकर्मीहरुले जानकारी दिएको हुन्।
स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्। हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन्।
यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ। हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ।
यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ। होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।
जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जानकारी दिएको छ। किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ।